AD_ Wide Top

रेडियो अडियोकोे प्रसारणको १० बर्ष पूराः हाँस्य व्यंग्य अवार्डसँगै ११औँ बार्षिक उत्सव

२०७४ मंसिर २१  |   Gufgaf

below social share detail page adv


loading...
रेडियो अडियोकोे प्रसारणको १० बर्ष पूराः हाँस्य व्यंग्य अवार्डसँगै ११औँ बार्षिक उत्सव

काठमाण्डौ मंसिर  २१   ■ 

मंसिर २१ अर्थात आजको दिन रेडियो अडियोले आफनो नियमित प्रसारणको १० बर्ष पूरा गरेको छ । २०६४ साल भदौ १२ गते गाईजात्राको दिनदेखि परिक्षण प्रसारण थालेको रेडियो अडियोले आफ्नो औपचारिक नियमित प्रसारण मंसिर २१ अर्थात आजैको दिन देखि सुरु गरेको थियो । गत साल देखि रेडियोले गीत संगीतको सार्बजनिक प्रयोग गरेवापत स्रष्टा सर्जकलाई ब्यबसायको एक प्रतिशत रकम छुट्याएर नियमित एकमुष्ठ रोयल्टी बुझाउन सुरु गरेको थियो । यस बर्ष देखि हास्य ब्यङग्य क्षेत्रमा महत्वपुर्ण योगदान दिने कलाकारलाई बर्षेनि अवार्डेड गर्ने निर्णय गरेको रेडियो अडियोका कार्यकारी निर्देशक दीपेन्द्र खनियाले जानकारी दिएका छन् ।
त्यसैगरी संस्थाले बिशिष्ट कलाकार र संगीतकर्मीहरुको अन्तरवार्ता लिएबापत उहाँले दिनु भएको समयको सम्मान स्वरुप निश्चित रकम छुट्याउने पनि निर्णय गरेको छ । भनेको रेडियो अडियोमा अन्तरवार्ता दिदाँ अब कलाकार र संगीतकर्मीले पैसा पाउनु हुनेछ । तर यो सम्मान प्रचारात्मक सामग्रीमा समय दिनेहरुका लागि भने लागु नहुने संस्थाले जनाएको छ ।
हाँस्दै र हँसाउदै रेडियो अडियोले एक दशकको यात्रा पूरा गर्नु आफैमा चुनौतीको बिषय हुँदा हुदै पनि यसमा सफलता पाएको र यसको सम्पूर्ण श्रेय श्रोता, शुभेक्छुक, बिज्ञापनदाता, कलाकर्मी, संगीतकर्मी र सहकर्मीलाई जाने अध्यक्ष खनियाले बताए । रेडियो अडियोको ११ औँ वर्षगाँठको अवसरमा अध्यक्ष खनियासँग गरिएको कुराकानी ।


रेडियो अडियोको कन्सेप्ट चाहि कसरी आयो ?
म सँग पैसा थिएन । म अभाव र अप्ठ्यारोमा अवसरहरु खोजी रहेको थिएँ । सायद त्यो बेलामा म सँग प्रशस्त पैसा भएको भए सायद न्यूज च्यानल नै खोल्थेँ होला । म रेडियोमा न्यूज सोसल च्यानल बाट नै आएको हो । यसो विचार गर्दा झापामा एउटा घटना घटेपछि त्यहाँको सम्वाद दातालाई फोन गर्नुपर्यो । समाचार बनाउनको लागि प्रिन्ट गर्नुपर्यो । त्यसको लागि प्रिन्टर हुनुपर्यो । रिपोर्टर चाहियो । यो सबै राख्न त पैसा चाहियो । यो पैसा त म सँग थिएन । त्यसपछि सजिलो सँग सस्तो रेडियो कसरी बनाउन सकिन्छ होला ? भन्ने कन्सेप्टमा चाहि मलाई अलि फरक धारको रेडियो स्थापित गरौँ भन्ने लाग्यो । जुन बेला रेडियो अडियो जन्मियो त्यही क्रममा हास्ँय व्यङ्ग्य एकदमै पिकमा थियो । आजको भन्दा धेरै राम्रो त्यो बेलामा हाँस्यव्यङग्यको बजार थियो । एकदमै शुरुवाती अवस्थामा थियो । तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सैहरु जम्दै थिए । त्यो बेलामा मदन दाई र हरि दाईले कोर्नुभएको बाटो फराकिलो बन्दै थियो । त्यो फराकिलो बाटोमा एउटा यात्रीको रुपमा म थिएँ ।


पत्रकारिता गरेको मान्छे न्यूज च्यानल चलाउँछु भनेर सोच्नुभएको थियो भने किन हास्ँय व्यङ्ग्य तर्फ लाग्नुभयो ?
मसँग प्रशस्त पैसा भएर मैले रेडियो शुरु गरेको भए तपाईले सोधेको जस्तो नै हुन्थ्यो होला । मेरो चुनौती के थियो भने बि.बि.सी. र सि.एन.एनसँग टक्कर दिने हैसियत भएको भए म न्यूज च्यानल नै चलाउँथे । दरबार हत्याकाण्ड भएपछि म के कुरामा पक्का थिएँ भने बि.बि.सी. नेपाली सेवाको प्रसारण समय नै बढेको थियो । आधा घन्टाको कार्यक्रमलाई सायद एक कि डेढ घण्टाको बनाईएको थियो । रिपोर्टरहरु उता बाट आएका थिए । त्यो ठूलो स्केलको लगानी गर्न नसक्ने भएकै कारणले म सँग जे थियो त्यसैमा रमाईलो गर्न खोज्दा रेडियो अडियो भएको हो ।


रेडियो अडियो खोल्दा तपाईसँग ठ्याक्कै नगद कति थियो ?
मुस्किलले मसँग डेढ लाख रुपैया थियो कि ?


रेडियो अडियो खोल्दा त्यो बेलामा कति पैसा लायो ?
म अप्ठ्यारोमा अवसर खोज्ने र सपना देख्ने मान्छे हो । दुई तिन वटा कुरा मलाई थाहा थियो कि म बेईमानी गर्दिन । निराशा भएर फर्किन्न अगाडि बढ्छु भन्ने थियो । साथमा डेढ दुईलाख भए पनि मैले २० ÷२५ लाखको सपना देखेको थिएँ । तर काम गर्दै जाँदा यो आधा करोड भन्दा बढी भो ।


पैसा कहाँबाट जुट्यो ?
सबै साथीहरु बाट हो । त्यो बेलाका साथी एक जना अहिले कान्तिपुर एफ.एम. मा विज्ञापन प्रबन्धक गौरी शकंर दाहाल हुन् । उनले हौसला दिए । काममा उक्साए । मोहन के.सी. जसले ईन्टेरियरमा र पार्टेशनमा सघाए । खासमा म साथीहरु सँग सपना सुनाउथे उनीहरु मलाई हौसाउथे । काम गर्दै गएँ । बिश्वास जुट्दै गयो । स्रोत थपिदै गयो । यो सबै प्रोसेसमा आदरणिय बद्रि पाण्डे दाईको ठुलो आर्शिवाद र माया छ ।


रेडियो अडियो कसरी स्थापित भयो ?
मेरो साथी मणी कर्मचार्यले मलाई दुई लाख रुपैया दिएपछि मैले घरबेटीकोमा आएर बैना गरेँ । त्यसपछि एउटा साथीलाई पार्टेशनको लागि पचास हजार दिएको उसले त्यति रुपैयामा सबै काम गरिदियो । त्यही क्रममा फर्निचरको एउटा दाईले मलाई पैसा भन्ने कुरा दिँदै गर्नुहोला म फर्निचरको काम गरिदिन्छु भन्नुभयो । त्यो दाईले मसँग पैसा लिन तिन वर्ष कुर्नुपर्यो । एक दिन दाई अफिसमा पैसा लिन आँउदा म स्टूडियोमा लुकेको थिएँ । रिसेप्शनको बैनीले दिपेन्द्र सर हुनुहुन्न भनेर भन्दा त्यो दाईले मेरो जुत्ता देखेर दिपेन्द्र सर यही हुनुुहुन्छ भनेर पक्डिएको घटना पनि छ । पार्टेशनको पैसा तिर्न पनि दुई वर्ष जति लाग्यो । बाह्र तेह्र लाख रुपैया भने मलाई बद्री प्रसाद पाण्डे दाईले दिनुभयो । त्यो पैसाले मलाई ट्रान्समिटर र मिक्सर किन्न सजिलो भएको थियो । केही समय यो बिजनेसमा हामी सगै पनि रह्यौँ ।


उहाँसँग तपाई कसरी जोडिनु भएको हो ?
त्यसको पनि लामो कहानी छ । जीवनमा मैले थुप्रै भगवानहरु पाएको छु । अहिले पनि म आतिन्न । शतकर्म गर्यो भने कोही न कोही हुन्छ । जितु दाईले भन्ने गर्नुहुन्छ आकाशमा नै सि.सि क्यामरा हुन्छ भनेर । बद्री दाई सँगको मेरो सम्बन्धको फरक सन्दर्भ छ । अहिले पनि मेरो मोवाईलमा बद्री दाईको नम्बर भगवान भनेर सेभ गरेको छु ।


रेडियोको स्टेशन राख्दा घर खोज्दै हिडेको कुरा भन्नु न ?
त्यो बेलामा मैले फरक–फरक किसिमको मान्छेहरु भेट्दै गएको थिएँ । एक जना दाईलाई मैले काठमाडौ मलमा रेडियो राख्छु भन्दा भर्याङ्गबाट हप्काएर पठाउनुभएको थियो । सिटी सेन्टरमा मलाई विजय गुप्ताले तपाईका कति मान्छे आउँछन तपाईको अफिसमा भन्नुभयो । मैले धेरै भयो भन्ने दिन्नन् होला भनेर तिस पैतिस जना भनेँ । उहाँ त्यति मान्छेको लागि हामी दिदैँनौ हामीलाई चार सय पाँच सय जना मान्छेको फ्लो हुने अफिस चाहिएको छ भन्नुभएको थियो । त्यसपछि युनाईटेड ट्रेड सेन्टरको दाईले मलाई तपाईले यो कुरा मलाई छ महिना अघि भनिदिएको भए रेडियोको लागि अर्का ठाउँ बनाईदिन्थेँ भन्नुहुन्थ्यो । अन्त्यमा अफिस ओमकार बिल्डिङ्गमा राख्यौँ ।


क्राईम, सेक्स, करेन्ट अफेयर सम्बन्धि खबर, राजनीति बिक्छ भन्ने समयमा हाँस्य व्यङ्ग्य बिक्छ भनेर कसरी ढुक्क हुनुभयो ?
मलाई के थियो भने म काठमाडौँमा अभावमा आएको मान्छे हो । यहाँ पढ्छृु त्यसपछि विदेश जान्छु घर बनाउँछु भन्ने आम सपना केहि थिएन । ठूलो कुरा म यहाँ बाच्नको लागि मात्र आएको हो । मलाई काठमाडौँमा सबै जनालाई दुख छ भन्ने महसुस हुन्थ्यो । घरमा कोही एउटा पाहुना आयो भने घरबेटीले ठूलो आँखाले हेर्थे । काठमाडौ अवसर भन्दा पनि चिन्तै चिन्ताको खाल्डो जस्तो लाग्थ्यो । त्यही घ्यू थप्ने काम म गर्दिन । त्यही खुशी खोज्छु भन्ने थियो । त्यही खुशी नै खोज्ने क्रममा रेडियो स्थापना गरेँ । चुनौती त धेरै थिए । हाम्रो स्रोताहरु हाम्रो लागि भगवान भएर आईदिनुभएको हो । तपाईले सोधेको प्रश्न मध्येको केही उत्तर मसँग पनि छैन । यति छिटो र सहज रुपमा काठमाडौँ वरीपरीका स्रोताले हामीलाई मन पराईदिनुभयो । यो मेरो जीवनको अर्को ठूलो खुशी हो ।


दश वर्षको अवधीमा रेडियो अडियोले स्रोतालाई मनोरन्जन दिने जुन सपना देखेर अगाडि बढ्यो दश वर्ष सम्म कति उपलब्धि भएको छ जस्तो लाग्छ ?
आज मात्रै आदरणिय निर्मल दाईले मलाई एक महिनाको विज्ञापन बजाउनुपर्न छ एक महिनाको प्याकेज दिनु न भन्नुभएको थियो । भनौ २०७४ को लागि रेडियोको विज्ञापन सिनेमाको लागि प्याक छ । हामीले विज्ञापन बजाउने नाममा बारगेनिङ्ग कहिले पनि गरेको छैनौ । विज्ञापन दिनी भए दे नभए तेरो गीत बजाउन्न पनि कहिल्यै भनेको छैनौ । कलाकारलाई सम्मान गर्नुपर्छ भन्ने एउटा सानो अभियान हामीले मनोरन्जन उद्योगमा स्थापित गर्यौ । आज केही अनलाईनहरुले केही युट्युब च्यानलले सिनेमाको आर्टिस्टको हटके केक काटेको तपाईले हेर्न पाउँनुहुन्छ । यसको अभियान्ताको शुरुवात सायद हामीले नै गरेको थियौ जस्तो लाग्छ मलाई । मनोरन्जन उद्योग हल्लाको पनि उद्योग हो । हल्ला गर्न सक्नुपर्छ भन्ने कुराको शुरुवात पनि हामीले नै गरेको हौ । हामीले यही बिचमा सङगीत उद्योग पनि राम्रो होस भनेर टोटल नाफाको होईन टोटल व्यापारको एक प्रतिशत भने रोयल्टी सङ्कलन समाजलाई प्रस्तोता समाज मार्फत दिने भनेर आधिकारिक रुपमा शुरुवात नै गर्यौ । दश वर्ष पुगेको अवसरमा कम्तीमा रेडियो अडियोबाट बज्ने गीतहरुमा सङ्गीतकार, गीतकार र रचनाकारको नाम अनिवार्य रुपमा जोडेर गीत बजाउने शुरुवात गर्दै छौँ । ओरालो लागि रहेको रेडियोको क्रेजलाई यसले माथि उठाउँछ । सम्रगमा एउटा सर्जकहरुलाई पैसा भन्दा ठूलो सम्मान यसले दिन्छ जस्तो लाग्छ । पछिल्लो समयमा हेर्नुभयो भने मनोरन्जन उद्योग फस्टाएर र राम्रो हुर्किदैँ गएको छ ।


एउटा अपेक्षा र सपना हुन्छ नि कार्यकारी अध्यक्ष भएपछि रेडियो अडियो परिवारको लागि देखेको सपना तपाई व्यक्तिगत रुपमा कस्तो हुन्छ ?
आफूले जन्माएको संस्था राम्रो होस जस्तो मैले पछिल्लो समय फेसबुकलाई धेरै महत्व दिएको छु । यसले आफूलाई अपग्रेड र अपडेट बनाईराखेको छ । यो समयमा हामी पछाडि फर्केर त हुदैँ हुदैन । आजका मिती सम्म म एक्लै दौडिएको होईन । मेरो टिम हो । कयौँ अप्ठ्यारा र असजिलाहरुमा साथ दिने सहकर्मीहरुको साथ हो यो पछाडि । हामी नेपालको लिडिङ्ग र विश्वासिलो हब बन्न सक्छौ त्यसको लागि हामीले तयारी गरिरहेको छौ । अहिले पनि धेरै मान्छेहरुलाई एन.सेल, बबैंकमा, एन.जि.ओमा काम गर्न पाए हुन्थ्यो भनेको जस्तै रेडियो अडियोको कामलाई पनि त्यसै गरी ग्यालमरस बनाऊ भन्ने लक्ष्य छ । टिम यही हो । म प्रशिक्षक भन्दा पनि फुटबल टिमको क्याप्टेन हो । हाम्रो अहिलेको सबै भन्दा ठूलो चुनौती भनेको भईरहेको क्रेजलाई कसरी अगाडि बढाउने र राम्रो बनाउने भन्ने हो । यी दुई वटा कुराको प्लानिङ्गमा हामी तयार छौ । एक वर्ष भित्रमा त्यो कुरा देखिन्छ । सबै कुरालाई हामीले परिपक्व बनाउन खोज्दै छौ । रेडियो अडियोलाई काम गर्ने अवसरमा नै राम्रो बनाउने हाम्रो प्रयास छ ।


स्रोतालाई दुई शब्दः
स्रोताको लागि पनि हामीले कन्टेन्टको कुरामा ध्यान दिन थालेको छौ । हप्तामा हाम्रो २४ वटा प्रोग्राम छ । सुन्दा रेडियो अडियो बोर हँुदैन । समय र भाग्यले साथ दियो भने तिन पाँच वर्ष भित्र आफ्नो नेटवर्क बनाउँछौ । देशको कुनै पनि रेडियोमा हाम्रो अवाज गुन्जिएको पाउँनुहुन्छ यसको लागि कम्तीमा तिन देखि पाँच वर्ष लाग्छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com