gufgaf

ससुरालीले जोक्कर भन्लान की भन्ने डर : जितु नेपाल

2019/02/25   gufgaf
   

गफगाफ -  कुनै समय थियो कलाकार जितु नेपाल कसैलाई एकदमै मन पराउँथे । तर उनले मन पराएकी युवतीले भने उनलाई फुटेको आँखाले पनि देख्न नचाहने रहिछिन् । पछि ती युवतीले जितुलाई मन पराउने समयमा भने उनी  जितुलाई नराम्री लाग्न थालिसकेको थियो । उनको पहिलो प्रेम यत्तिकै बिलाएर गयो । यहि कारण पनि पहिलो प्रेमले खासै पीडा नदिएको जितु बताउँछन् ।  

उमेरले २८ टेकेपछि जितुलाई घरबाट बिहे गर भनेर प्रेसर आउन थाल्यो । त्यो उमेरमा जितुलाई पनि बिहे गर्ने उमेर भएझैँ लाग्न थालेको थियो । विवाह नै गर्ने भएपछि जितुले घरमा मागी विवाहको प्रस्ताव राखे । उनका नातेदारमार्फत एउटी केटीको कुरा आयो । केटा र केटी देखादेख हुने भयो । केही आफन्तसहित जितु ती युवतीलाई हेर्न गए । उनको नाम मुना थियो । अन्तत जितुकोे विवाह मुनासँग नै भयो । मुना र जितुको विवाह भएको १४ वर्ष पुरा भइसकेको छ । १४ वर्ष अघि आजैका दिन उनीहरु विवाह बन्धनमा बाधिएका थिए । प्रस्तुत छ बैबाहिक जिवन बारे उनले दिएको अन्र्तवार्ताको सम्पादित अंश उनकै लयमा ।

पहिलो पटक केटिको घर जाँदा हिलोमा चिप्लिएर लडेँ 

महाराजगञ्जको नारायणगोपाल चोक नजिकै मुनाका आफन्तको डेरा थियो र त्यही डेरामा हाम्रो पहिलो भेट भयो । पहिलो भेटमा एकअर्कालाई हेराहेर भयो । 
त्यसबखत म टेलिभिजनमा गीताञ्जलि नामक कार्यक्रम चलाउँथेँ । त्यो अवधि भनेको मेरो संघर्षको अवधि थियो । पहिलो पटक केटी हेर्न जाँदा म धुस्रे र फुस्रे भएर पुगेको थिएँ । भेट्ने बित्तिकै मैले मुनालाई नमस्कार गरेको अझै सम्झिन्छु । त्योबेला सम्म मैले मुनालाई चिनेको थिइन । पछि मात्र थाहा भयो मैले जसलाई नमस्कार गरेको थिएँ, ऊ नै मुना रहिछन् । पहिलो पटकको हेराईमा नै मलाई मुना मन परिसकेको थियो । 

मुनाले मलाई अस्विकार पो गर्ने हुन् कि भन्ने डर लाग्न थालेको थियो । त्यसैले पनि म जति सक्दो छिटो विवाह गर्न चाहान्थेँ । तर हामीले एक अर्कालाई हेरे पनि मुनाका बाबा ममीले नहेरी कुरा अघि बढ्न सम्भव थिएन । त्यसको केहि दिन पछि मलाई मुनाको घर मै आउन निम्ता आयो । मेरो खुशीको सिमा थिएन । मलाई कतिखेर मुनालाई भेट्ने र हेर्ने जस्तो भईसकेको थियो । यहि कारण तिव्र गतिमा बाईक चलाएर मुनाको घर फर्पिङतर्फ लागँे । बाटो चिप्लो थियो । हतारमा बाईक चलाएका कारण बाटैमा चिप्लिएर लडँे । हिलाम्मे भए । हिलोका कारण लुगा सबै बिग्रियो । धर्मसंकटमा परेँ त्यहिबाट फर्किनु की त्यतिकै जानु ।  अन्तिममा त्यहि नजिकै कुवा रहेछ, कुवामा गएर हिलो यसो पाछपुछ गरेर मुनाको घर पुगँे । . अन्ततः मुनाको आमाबुवा पनि छोरी दिन सहमत हुनुभयो । 

पहिले उनले नै फोन गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो

उनको घरबाट फर्किनु भन्दा पहिला उनलाई आफ्नो फोन नम्बर दिन चाहन्थेँ, तर अप्ठ्यारो लाग्यो । परिवारकै एक सदस्यलाई नम्बर दिएर फर्किएँ । उनले आफैँले बुझेर फोन गरिदिए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । अपरिचित नम्बरबाट फोन आउनासाथ हत्तपत्त उठाइहाल्थेँ । उनै हुन् कि जस्तो लाग्थ्यो । एक दिन भयो पनि त्यस्तै । अपरिचित नम्बरबाट फोन आयो । झटपट उठाएर सोधिहालेँ ‘को बोल्नु भएको ?’ उताबाट उत्तर आयो– ‘म मुना बोलेको ।’ मन खुसीले उफ्रिन थाल्यो । अत्तालिँदा–अत्तालिँदै ठाडै सोधेँछु– ‘ए तिमी के छ खबर ? तिमीलाई म मन परेँँ ? बिहे गर्ने होइन त ?’ उनले लजाउँदै भनिन्– ‘छ्या तपाईं त ।’ त्यसपछि त के थियो, भर्खरै लभ परेका केटाकेटी जसरी फोनमा झुम्मिन थाल्यौँ । परिवारमा भएका कुराकानी मलाई सुनाउन थालिन् । उनी परिवारबारे जति बताउँथिन, मलाई उत्ति नै आफ्नोपनको अनुभूति हुन्थ्यो ।

फोटो हेर्ने बाहानामा भेट

एक दिन उनले केही अगाडि खिचिएका फोटो हेर्ने बहानामा भेटौँ भनिन् । मलाई पनि देख्न मन लागिरहेको थियो । उनलाई कलंकीमा भेटेँ अनि कालिमाटीको बेकरी क्याफेमा ल्याएँ । मम अर्डर गर्र्यौं । बेकरीमा सँगै बस्दा अलि अप्ठ्यारो लाग्यो । भेटे पनि उति धेरै बोलिरहेका थिएनौँ, उनी त मलाई केही पनि सोध्दैनथिन् । तैपनि फोटोहरू हेर्ने बहानामा केही बोलचाल गर्यौँ । उनले मेरो प्रशंसा गरिन्, मैले उनको । निकै समयदेखि सोध्न मन लागिरहे जसरी अनकनाउँदै सोधिन्– ‘तपाई ड्रिङ्स गर्नुहुन्छ कि हुन्न ?’ मैले नढाँटी भनेँ– ‘अलि–अलि गर्छु ।’ आधा घन्टा त्यहाँ बसेपछि उनलाई आफैले घर पुर्याएर फर्किएँ । त्यसपछि चाहिँ बिहे अगाडि अब नभेट्ने भनेका थियौँ तर मन किन मान्थ्यो र ? फेरि बहाना बनाएर रेस्टुरेन्टमा भेट्यौँ ।

अन्माउने बेलामा मुना रुँदा नरमाईलो लाग्यो

२०५९ फागुन १३ गतेका लागि हाम्रो बिहे तय गरियो । तुलसी घिमिरे, शिवहरि पौडेल, दीपकराज गिरी लगायत कलाकर्मी जन्ती हुनुहुन्थ्यो । साथीहरू मलाई छेड हान्दै हँसाइरहेका थिए । हाँस्य कलाकारहरूका बीच बिहेको माहोल नै रमाइलो थियो । बिदाइका बेला बेहुलालाई बोकेर बाहिर निकाल्ने चलन थियो । मलाई एकदमै अड लाग्थ्यो । त्यसैले आफ्नै बिहेमा चाहिँ त्यो चलनलाई प्राथमिकता दिइन । भन्न त भन्दै थिए, बोक्नुपर्छ भनेर । मैले पनि जोक्स गरिदिएँ– ‘बोक्ने नै हो भने कि त बोकेरै घरसम्म पुर्याउनुपर्छ, नत्र एकैछिनलाई बोकी माग्नेवाला म छैन ।

’ अन्माउने बेला मुना रुन थालिन् । मलाई नरमाइलो लाग्यो । अब बेहुलो न परियो, सबैका अगाडि नरोऊ भन्दै फकाउन पनि नमिल्ने । मनमा नमज्जा लागिरहेको थियो, अरू मानिससँग बोलेको निहुँ पारेर आफ्नै मनलाई सान्त्वना दिँदै बसियो । चोभारसम्म आइपुग्दा पनि सुँक्क–सुँक्क गरिरहेकै थिइन् । उनी हाँसुन् भनेर जोक्स गर्थें– ‘ई‘ दुलहीहरू रुने त घर आँगनसम्म मात्रै पो रहेछ, आधा बाटो आएपछि त किन रुन्थे र ? मिलाएर रुन खप्पिस हुँदा रहेछन् ।’ यस्तो सुनेपछि उनी रिसाए जस्तो गर्थिन् । तर, मनमनै चाहिँ हाँसिरहेकी छिन् जस्तो लाग्थ्यो, म चाहन्थेँ पनि त्यही ।

ससुरालीले जोक्कर भन्लान की भन्ने डर लाग्थ्यो

उनी नयाँ मान्छे परिन्, नयाँ ठाउँ, नयाँ परिवारमा एडजस्ट हुन केही समय त लागिहाल्छ । विवाह हुनुभन्दा पहिला एक्लै खाने र सुत्ने गरेको, विवाहपछि सँगै हुँदा केही गाह्रो हामी दुबैलाई भएको थियो । म उनलाई मुना भनेर सम्बोधन गर्थें, उनी बाबा भनेर बोलाउँथिन् । अहिले पनि त्यसै गर्छौं । मेरो वास्तविक लभचाहिँ विवाहपछि पर्यो । बिहेको दुई महिनामै बुबा बित्नु भएपछि हामी हनिमुन मनाउन गएनौँ । दुलहन फर्काउन जाने–आउने हुँदै समय पनि बित्दै गयो । गीताञ्जलि कार्यक्रम सकेर राति १०–११ बजे आउँदा उनी रिसाउँथिन् ।

दुई वर्षपछि पहिलो सन्तानका रुपमा छोरी समृद्धि जन्मिइन्, त्यसको दुई वर्षपछि छोरो सक्षम जन्मियो । कार्यक्रमका सिलसिलामा मुनालाई पूर्वाञ्चलतिर लिएर गएको थिएँ । त्यहाँ पनि राम्ररी खुलेर बस्न पाइरहेका थिएनौँ । फ्री टाइममा दर्शकहरूसँग फोटो खिचाउँदै, कुराकानी गर्दै सकिन्थ्यो । जतिखेरै अन्त व्यस्त भएको देख्दा उनी रिसाए जस्तो गर्थिन् । तर, अहिले त उनले यी सबै कुरा बुझिसकेकी छन् ।पहिलोचोटि ज्वाइँ बनेर ससुराली जाँदाको अनुभूति पनि रमाइलै हुँदो रहेछ । सबैले सम्मान गर्ने । खानामा पनि अनेक प्रकारका तरकारी बनाएका हुन्थे । मलाई अड लाग्थ्यो । ज्वाइँ मान्छे केही बोलिहाल्न पनि भएन । यसै त हाँस्य कलाकारलाई जोकर भन्छन्, त्यसमाथि कस्तो ज्वाइँ रै’छ भन्लान् कि भन्ने डर । 

छिन मै झगडा छिन मै मिलन

अब त पुराना भइसक्यौँ एकअर्काका लागि । ठाकठुक पनि निकै पर्छ । नाम अनुसार मेष र वृश्चिक राशि हो हाम्रो । यी दुई राशि एकअर्कासँग कहिल्यै नमिल्ने खालका हुन्छन् रे, एकदमै रिसाहा । फेरि यिनीहरू एकअर्कालाई नभई नहुने पनि हुन्छन् रे । हाम्रो सम्बन्ध पनि त्यस्तै छ, छिनमै झगडा पर्ने अनि छिनमै पानी भइहाल्ने । प्राय किचेन सम्हाल्ने र कोरीबाटीमा समय लगाउने कुरामा उनीसँग ठाकठुक चल्छ । म सधैँ किचेन तिमीले नै सम्हाल्नु पर्छ भन्छु । उनीचाहिँ तपाईंले परिवारसँग बढी समय बिताउनु पर्छ भनेर करकर गर्छिन् ।

कतै पार्टीमा जनुपर्दा म एकैछिनमा तयार भइहाल्छु, उनको चाहिँ मेकअपै लामो । अनि केही त भन्नु परिहाल्यो । हामीबीचको ठाकठुकलाई नर्मल बनाउनमा चाहिँ म नै अगाडि हुन्छु । म भन्छु– ‘जीवनमा म तिमीसँग जहिल्यै हारेको छु ।’ यस्तो सुन्दा उनी खुब हाँस्छिन् । मलाई पनि रमाइलो लाग्छ । हामीबीच उमेरमा आठ वर्षको फरक छ । अलिअलि ठाकठुक चले पनि खुसी र सुखसाथ जीवन गुजारि रहेका छौँ । आपसी सम्बन्धप्रति एकदमै सन्तुष्ट छौँ । उनले मेरो जीवन सार्थक बनाएकी छन् । उनी विनाको जीवन निरर्थक होलाजस्तो लाग्छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस