gufgaf

४५ वर्ष लागे माग्ने बुढा, अन्र्तवार्ता लिँदा लिँदै बने हाँस्यकलाकार

2019/04/11   गफगाफ
   

गफगाफ- कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले ४५ औँ जन्मदिन मनाउँदै छन् । २०३२ साल चैत २८ गते मकवानपुरको ठिङगनामा जन्मेका केदार अहिले सबैको प्रिय र सफल कलाकार हुन् । तर उनी यो स्थान सम्म आइपुग्न थुप्रै हण्डर र ठक्करहरु खाए । केदारको संघर्षको कथा सुनेर जो कोही पनि भावुक हुन्छ । शुरुवाती दिनमा गर्न चाहेका एकपछि अर्को कामको असफलताले उनलाई साह्रै दुख दियो । बुवा कृष्ण प्रसाद घिमिरे र अग्नि कुमारी घिमिरेका छोरा केदार कलाकार बन्ने दौडमा काठमाण्डौ भित्रिएका थिएनन् । उनी त धेरै पढेर वकिल बन्न चाहन्थे । 

यस कारण भित्रिए काठमाण्डौ
कानुन विषय अध्ययन गर्नका लागि उनले २०५० सालमा काठमाण्डौका यात्रा तय गरे । कानुन पढेर ठूलो मान्छे बन्ने अनि देशको सेवा गर्ने सपना बोकेर काठमाण्डौ छिरेका उनले त्यो सपना पूरा गर्न भने सकेनन् । बरु उनी विपनामा विस्तारै सपनामा नदेखेको कामतिर मोडिन थाले ।  एकपटक उनलाई एउटा अन्र्तवार्ताले कानुन विषयमा रुचि जगाएको थियो । बोर्ड टपर गरिमा रानाको अन्र्तवार्ताले कानुन विषय पढ्ने भुत जगाएको थियो । गरिमाले आफू कानुन विषय पढेर देशको लागि केही गर्ने कुरा गरेको सुनेर माग्नेलाई पनि त्यहि काम गर्ने रुचि जागेको थियो । त्यो उमेर उनको लागि मात्रै हैन सबैको लागि जे देख्यो त्यहि बन्न मन लाग्ने  समय र उमेर हो ।

अरुले जे भन्यो त्यहि सहि लाग्ने उमेर थियो त्यो ।  कानुन विषय पढ्ने भुतले उनलाई काठमाण्डौसम्म ल्यायो । काठमाण्डौ आएर उनले कानुन विषय अध्ययन गर्न पनि थाले । तर उनी पास हुन भने सकेनन् । त्यो समय उनीसँग स्रोत र साधानको पनि कमी थियो ।त्यसबखत काठमाण्डौमा भएका उनका दाई भाउजु पनि आर्थिक रुपमा त्यति सम्पन्न थिएनन् । यहि कारण केदारले फेरि मकवानपुर फर्किए । घर पुगेर बुवासँग आफूलाई जसरी पनि कानुन विषय पढ्न मन भएको कुरा बताए ।   

काठमाण्डौमा बस्न निकाले यस्तो जुक्ति
त्यस बखत ब्याक सपोर्टको खोजीमा भएका उनले काठमणडौमा अडिनको लागि जुक्ति निकाले । थोरै रकममा गर्न सकिने व्यापारको खोजीमा लागे उनी । घरबाट १५ सय रुपैयाँ लिएर आएका उनले १ हजार सम्ममा गर्न सकिने काम खोज्दै जाँदा बाटोमा माल्प्वा पकाउने र साग बेच्ने काम भेटे ।  व्यापार थाल्नु भन्दा पहिले नै घरबाट ल्याएको पैसा खर्च भएर जम्मा ८ सय ५० मात्रै बाँकी थियो उनीसँग । त्यस कारण उनले ८ सय रुपैयाँमा कस्मेटिक पसल खोले । कस्मेटिक पसलमा सुरुको दिनमा उनले २ सय ५० रुपैयाँको कमाई गरे जुन कमाईले उनलाई निकै उर्जा दियो । यस हिसाबले महिनामा ७ हजार ५ सय कमाई हुने र एस एल सी पास भएको युवाले यति कमाउनु राम्रो भएको भन्दै उनी खुशी भए ।

यस्तै उनले सुरुवाती दिनमा काठमाण्डौमा जीरा धनियाँ बेच्ने काम पनि गरे । पछि केदारले लगनखेलको बाटोमा होलसेल पसल खोले । तर त्यहिबेला नेपाल सरकारले बाटोमा भएका होलसेल पसल हटाउने आदेश दियो । यो थाहा पाएर केदारले पनि सरकारलाई हस्त नमस्कार ! भनेर हिँडे ।  तर उनले यत्तिकै हार भने खाएनन् । उनले त्यसपछि तीन वटा टेम्पु किने । उनको दुर्भाग्य, त्यस बखत नेपाल सरकारले ट्याम्पु पनि हटाउने निर्णय लियो । परिणाम, उनले एक लाख भन्दा माथि परेको ट्याम्पुलाई ३० हजारमा बेच्नु परेको थियो । केदारको संघर्ष यत्तिमै सकिएन । उनले यसपटक भने सटरमा होलसेल पसल खोले । तर पछि त्यो सटर पनि बाटो बढाउने भनेर भत्काईयो । केदारलाई हरेक ठाउँमा नेपाल सरकारले लात्ती हानेको थियो । यहि कारण उनी सरकारले लात्ती हानेर आफूलाई कलाकार बनाएको भन्छन् ।

कलाकारिताको शुरुवात 
सरकारको लात्तीले पीडित भएका उनको भेट आर जे सुमित्रा खड्कासँग भयो । केदारले उनलाई आफ्ना कविताहरु रेडियोमा पढ्न लगाउँथे । आफूले लेखेको कविता रेडियोमा प्रशारण हुँदा उनी निक्कै रमाउँथे । उनी रेडियोमा आएको कविता वरिपरिका सबै पसलेहरुलाई जम्मा पारेर सुनाउँथे । यहि क्रममा पछि उनले पनि रेडियोमा बोल्ने मौका पाए । शुरुमा उनले रेडियोमा दुईवटा कार्यक्रम चलाउँथे । एउटा भाषा भाषिको कार्यक्रम थियो भने अर्को हाँस्य कार्यक्रम । हाँस्य कार्यक्रममा उनले हाँस्य कलाकारहरुसँग अन्र्तवार्ता लिन जानु पर्थ्यो । यहि क्रममा उनले नेपालका प्राय हाँस्य कलाकाहरुसँग अन्र्तवार्ता लिने मौका पाए । एकपटक उनी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यकहाँ पनि पुगेका थिए । कलाकारहरुसँग अन्र्तवार्ता लिँदा लिँदै उनलाई पनि हाँस्य कलाकार बन्छु भन्ने लाग्यो । 

अन्तवार्ताकै शिलशिलामा उनले एकदिन मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हाँस्य कलाकार कसरी बन्ने ? भनेर सोधे । उनीहरुले अभिनय सिक्नु पर्ने सुझाव दिए र केदार अभिनय सिक्न गए । उनले रेडियोमा काम गर्ने क्रममा सन्तोष पन्तको पनि अन्र्तवार्ता लिएका थिए । सन्तोष पन्तसँग अन्र्तवार्ता लिएपछि सन्तोषलाई भनेको कुरा सम्झँदै उनी भन्छन्, ‘मैलै उहाँलाई त्यति बेला भनेको थिएँ, अन्र्तवार्ता त एक बहाना हो । म एउटा कलाकार बन्न चाहन्छु । मैले सोच राखिसकेँ मैले अभिनय पनि सिकिराको छु ।’

उनी सम्झन्छन्, ‘अनि उहाँले ल नम्बर दिएर जाऊ भन्नु भयो । त्यसबखत मेरो मोबाईल थिएन । मैलै घरबेटीको नम्बर दिएर आएँ । तर फोन आएन । फोन आयो भनेर घरबेटीकहाँ सोध्न जाँदा उसैले निकाल्देला भन्ने पीर भईसक्यो तर फोन आएन । पछि एकदिन प्रज्ञा भवनमा सन्तोष दाईसँग मेरो भेट भयो । त्यस भेटमा उहाँले मलाई आउने सोमबार आउ है भनेर बोलाउनु भयो । सोमबार गएँ । तर त्यो सोमबार मलाई त कुनै ठूलो दुर्घटना भए जस्तै लाग्यो । झण्डै ६० देखि ७० जनाको लाईन थियो सन्तोष पन्तको घर अगाडि । ती सबै ‘हिजो आजका कुरा’मा खेल्न पाईने आशले गएका रहेछन् । त्यो दिन म सफल भईन । धेरै पटक धाएपछि बल्ल तल्ल ‘हिजो आजका कुरा’मा छानिएँ । तर जम्मा एउटा सम्वाद बोल्ने अवसर मिल्यो । यसरी शुरु भयो मेरो कलाकारिता ।’

यसरी बने माग्ने बुढा 
‘हिजो आजका कुरा’बाट शुरु भएको कलाकारितालाई उनले निरन्तर अगाडि बढाए । मेहनत गरे । उनले नेपाल टेलिभिजनको सिरियल ‘गीतान्जली’मा काम गरे । यसमा उनीसँगै कलाकार जितु नेपाल पनि काम गर्थे । जितु र केदारले ‘गीतान्जली’ लेख्ने र खेल्ने दुवै अवसर पाएका थिए । ‘गीतान्जली’ले उनलाई कलाकारको रुपमा स्थापित गराउँदै थियो । यहि क्रममा उनले ‘जिरे खुर्सानी’मा पनि काम गर्ने अवसर आफै जुराए । ‘जिरे खुर्सानी’मा काम गरेर केदारलाई चित्त बुझेन । किनकी दुई तीन हप्तामा बल्ल सिरियलमा देखिने पालो आउँथ्यो । केदारलाई मुख्य भूमिकामै देखिन मन लाग्यो । त्यसपछि उनले सीताराम कट्टेलसँग सहकार्य गरेर ‘‘मेरी बास्सै’ बनाए । ‘मेरी बास्सै’मा माग्नेको भूमिकामा देखिएपछि केदारले चाहेको स्टारडम पाए । 

धुर्मुससँगको सम्बन्ध
‘मेरी बास्सै’मा जोडी बाँधिएपछि केदार र सीतारामको जोडीलाई केसी जोडी भनिन्थ्यो । यो जोडीले हाँस्यव्यङग्यमा एकताका एकछत्र राज गरेको थियो भन्दा फरक पर्दैन । तर बिडम्बना यो जोडी लामो समय अघि बढेन । केदार र सीतारामबीच फाटो आयो । यहि कारण केदारले आफैले जन्माएको ‘मेरी बास्सै’लाई अलबिदा भन्ने अवस्था सिर्जना भयो । सीतारामसँग जोडी फाट्नुमा केदार आफूहरु दुवैलाई जिम्मेवार मान्छन् । उनी भन्छन्, ‘अरुलाई दोष दिने ठाउँ छैन । हामी आफैंले आफ्नो जोडीको रक्षा गर्न सकेनौँ ।’ 

केदारले छोडेको केही वर्ष भने सीतारामले ‘मेरी बास्सै’ लेखन र निर्देशनको काम सम्हाले । तर पछि सामाजिक सेवामा सक्रिय भएका कारण उनले पनि अहिले ‘मेरी बास्सै’लाई समय दिन सकेका छैनन् । उता केदारले भने त्यसपछि ‘खासखुस’ गरे । तर अहिले ‘खासखुस’ पनि बन्द भईसकेको छ ।  अहिले केदार पूर्ण रुपमा सिनेमामा सक्रिय छन् । उनी दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर सिनेमा निर्माण गरिरहेका छन् । ठूलो पर्दामा पनि उनको अभिनय दर्शकले अत्यधिक रुचाएका छन् । उनी ठूलो पर्दामा पनि अत्यधिक डिमाण्ड भएका हाँस्यकलाकार पनि हुन् ।  तर आमा सरस्वतीको ब्यानरमा काम गरिरहेका कलाकारहरुले आफ्नो टिमबाहेक अन्य ब्यानरका टिममा काम गरिरहेका छैनन् । यहि कारण केदार पनि आफ्नै टिमको काम राम्रो बनाउनेमा लागिपरेका छन् । 
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस