gufgaf

लागूपदार्थको सेवनले जोखिम बढाउँछ 

2019/04/15   गफगाफ
   

गफगाफ -किशोरावस्थामा हरेक कुराको बारेमा कौतुहलता हुन्छ । कुनैपनि विषय बारे जान्न मन लाग्नु स्वभाविक हो । तर, बुझ्न चाहेको कुराको बारेमा सहि सूचना र जानकारी नपाएमा कौतुहलताले नकारात्मक बाटो तिर दोहोर्याउन सक्छ । त्यस्तै, किशोरावस्था भनेको जोशिलो उमेर हो । यो समयमा म राम्रो भन्ने भाव हुन्छ । साथै, साथीसँगको सम्बन्ध पनि दह्रो हुन्छ । साथीको कुरामा आएर धेरै किशोरकिशोरी लागू पदार्थको लतमा लाग्छन् । तर, यसले हानी गर्छ भन्ने बारे धेरैले ख्याल गर्दैनन् । जसकारण फेरि पनि किशोरकिशोरी जोखिममा पर्छन् ।  

१. लागू पदार्थको लत कसरी बस्छ ? 
लागूपदार्थको लतमा फसेका व्यक्तिहरु मध्ये धेरैजसो व्यक्तिहरु किशोरकिशोरी अवस्थामा लागूपदार्थको लतमा फसेको पाइएको छ । यसरी लतमा फस्नुको सबैभन्दा महत्वपूर्ण कारण साथीसँगीहरुको सङ्गत हुने गरेको छ । किशोरावस्थामा साथीहरुको सङ्गतको धेरै महत्वपूर्ण भूमिका हुन्छ । किशोर किशोरीहरु आफ्नो समूहका साथीले गर्ने धेरै व्यवहारबाट प्रेरित हुन्छन् र आफूले पनि त्यस्तै व्यवहार गर्न रुचाउँछन् । यस्तो बेलामा साथीले चुरोट, खैनी तथा लागूपदार्थ सेवन गरेको देख्दा आफूलाई पनि सेवन गर्न मन लाग्ने हुन्छ । यसमाथि पनि कतिपय अवस्थामा साथीहरुले एक पटक चाख्नु पर्छ भनेर करकापमा पार्ने गर्दछन्  र बिस्तारै यसको प्रयोग बढ्दै गएमा यो लत हुन जान्छ । 

त्यसैगरी, पारिवारिक कलहका कारणले गर्दा पनि धेरै किशोर किशोरीहरु यसको लतमा फस्ने गर्दछन् । शुरुमा उनीहरु निराश भई आफ्नो निराशाबाट बाहिर निस्कन आफ्नो होश गुम्ने साधनका रुपमा लागूपदार्थ सेवन गर्न शुरु गर्न सक्दछन् । यसको प्रयोग बढ्दै जाँदा पछि लत बस्न जान्छ । विशेषगरी, सौतेनी सम्बन्ध भएको घर, आमा बुवाको अभाव वा कलह भइरहने घर र पुस्तैनी भिन्नतामा अभिभावकको भावना र सोच आफूसँग मिलाउन नसक्ने किशोर किशोरी यस्तो सङ्गतमा पर्ने गरेको पाइएको छ । 

परिवारिक परिवेशमा भएका नराम्रा अवस्थाहरुबाट कुनै पनि लागू पदार्थले छुटकारा दिलाउँदैन बरु झन् थप पारिवारिक समस्याहरु निम्त्याउँछ ।  तसर्थ, किशोरकिशोरीहरुले लागू पदार्थबाट आफूलाई सदैव टाढा राख्नुपर्छ । 

२. लागूपदार्थ प्रयोग गरेपछि यसले हामीलाई कसरी असर गर्छ ? 

जब हामीले लागूपदार्थको प्रयोग गर्दछौं तब यसले हाम्रो शरीरको रक्त संचार र स्नायु प्रणालीमा असर गर्ने गर्दछ । 
जसरी हामीले खाएका खानामा भएका पोषकतत्वहरु रगतमा पुगी सम्पूर्ण शरीरका तत्व वा कोषहरुसम्म पुग्छन्, त्यसरी नै लागू पदार्थ पनि रगतको माध्यमबाट दिमागमा पुगेर लागेको अनूभूति गराउँदछ । यसैलाई लागेको भनिन्छ । 

हामी जति जति यसको प्रयोग गर्छौं यसले लत बसाल्छ । अर्थात केहि समयपछि त यो नभै नहुने झैं हुन्छ । कतिपय अवस्थामा अत्यधिक लागू पदार्थ सेवन गरेका किशोरकिशोरीहरुको यसै कारण मृत्यु पनि भएका प्रशस्त उदाहरणहरु छन् । 

३. हामीले एकपटक चुरोट खायौं भने यसको बानी नै बस्छ । चुरोटको सेवनले कस्ता असरहरु देखिन सक्छन् ? 
चुरोट एक मध्यम स्तरको अम्मल हो । यसलाई हामी धुमपानको प्रमुख तत्वको रुपमा लिन सक्छौं । किशोरकिशोरीहरुको प्रायः एकजमात नै चुरोट सेवन गर्ने गर्दछन् । उनीहरुले विशेषगरी कौतुहलताले गर्दा नियमित साथी सङ्गतमा बस्नको लागि चुरोट खाएको पाइएको छ । सामान्यतया जब कुनै पनि व्यक्तिले चुरोट खान्छ तब चुरोटमा हुने निकोटीन भन्ने रासायनिक पदार्थ रगतको माध्यमबाट उसको स्नायु प्रणालीमा पुग्दछ । जति जति यसको प्रयोग बढ्दै जान्छ त्यति नै निकोटीनको मात्रा रगतमा बढ्दै जान्छ र अन्तमा चुरोट नभई नहुने भएको जस्तो लाग्न थाल्छ । 

धुम्रपानका असरहरु 

अरु लागूपदार्थ जस्तै चुरोट सेवनले पनि यसको विभिन्न स्वास्थ्य तथा सामाजिक असरहरु निम्त्याउन सक्छन् । ती असरहरु यस प्रकारका छन् :

  •    मुख तथा फोक्सोको क्यान्सर । 
  •   क्षयरोग लाग्ने । 
  •  सास गन्हाउने । 
  •   खनामा स्वाद नआउने । 
  •  दाँत तथा ओठ कालो हुँदै जाने । 
  •   चुरोट खाने बाहेक अरु साथीबाट टाढा हुनुपर्ने । 
  •   रक्तनलीहरु खुम्चिदै जानाले रक्तचाप बढ्ने । आदि । 

त्यसैले चुरोट खानु हुँदैन । यहाँ एउटा महत्वपूर्ण कुरा के छ भने एकचोटि वा केहि समय चुरोट खान शुरु गरेको व्यक्तिले चुरोट छोड्न त्यति गाह्रो हुँदैन । 

४. के रक्सी लागूपदार्थ हो ? रक्सी सेवन गर्नाले हुने फाइदा तथा बेफाइदाहरु के के हुन् ? 

रक्सी लागूपदार्थ होइन । तर, यसलाई हामी मादक पदार्थ भन्ने गर्दछौं । यसको सेवनले व्यक्तिलाई कुनै किसिसको फाइदा हुँदैन तर बेफाइदा भने धेरै हुनसक्छ । रक्सीसेवन गर्ने मानिसले समाजमा विकृति ल्याउने हुँदा उसको असामाजिक व्यवहारलाई, स्वयम् व्यक्तिलाई समाजले स्वीकार्दैन । यतिमात्र नभई यसको सेवनले परिवारमा समेत चिन्ता बढ्ने, मनमुटाव, झगडा हुने, धनजनको नाश हुने गर्दछ र विशेषगरी यसको नियमित र अत्यधिक सेवनले गर्दा यसको बानी बस्न जान्छ र शरीरलाई नै हानि गरी रक्तचाप बढ्ने, कलेजोको समस्या जस्ता समस्याहरु आइपर्न सक्छन् । 

५. लागूपदार्थको सेवन गरेपछि टेन्सन घट्छ रे हो ? 

यो कुरा गलत हो । लागूपदार्थले टेन्सन घटाउने भन्दा पनि टेन्सन बढाउँछ । हुन त लागूपदार्थमा हाम्रो स्नायु प्रणालीलाई लठ्याउने चीज हुने हुनाले हाम्रो होश गुम्छ र हामीलाई टेन्सन घटेको जस्तो लाग्छ । तर, जब त्यो व्यक्ति उक्त लागूपदार्थको लठ्याइबाट बाहिरिन्छ तब टेन्सन जस्ताको तस्तै हुन्छ । लागूपदार्थको सेवन गर्नाले यसको लत बस्न गएर लागूपदार्थ नभइ नहुने अवस्थाको सृजना हुन्छ र जीवन बर्बाद हुन्छ । 

टेन्सन के कारणले भएको हो सो समस्याहरुको समाधान गर्नु टेन्सन हटाउने उपयुक्त उपाय हो न कि लागूपदार्थको प्रयोग । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस